चितवन : चितवनको भरतपुरस्थित कालिका एफएमले वार्षिकोत्सवको अवसरमा आइतबार आयोजना गरेको ‘यामाहा कालिका एफएम म्युजिक अवार्ड २०७१’ मा चलचित्र ‘नाइँ नभन्नु ल २’ को ‘यी आँखामा तिमी छेउ’ वर्षको सर्वोत्कृष्ट गीत ठहरिएको छ। समारोहमा चलचित्र निर्देशक एवम् गीतकार यादव खरेललाई ‘लाइफटाइम म्युजिक अवार्ड’बाट सम्मान गरिएको छ। खरेलले निकट भविष्यमै आफूले श्रोतामाझ केही नयाँ गीत ल्याउने प्रतिबद्धता व्यक्त गरे।
विभिन्न २५ विधामा प्रदान गरिएका अवार्डमध्ये यो गीतले तीन वटा अवार्ड हात पार्न सफल भएको हो। उत्कृष्ट संगीत संयोजनमा महाराजा थापा र नेपाली चलचित्रको उत्कृष्ट संगीत विधामा वसन्त सापकोटाले यही गीतबाट अवार्ड पाए।
नाइँ नभन्नु ल २ कै ‘मर्ने कसैलाई रहर हुँदैन’ बोलको गीत चलचित्रको उत्कृष्ट गीत घोषित भयो। चलचित्रतर्फ उत्कृष्ट गायकमा विन्दास २ को ‘सुन्छु तिमीले मलाई’ बोलको गीतबाट शिव परियार र उत्कृष्ट गायिकामा चलचित्र कालीको ‘बट स्लोली स्लोली’बाट मिलन अमात्यले अवार्ड पाए।
आधुनिक गीततर्फ प्रमोद खरेलले उत्कृष्ट गायक, माण्डवी त्रिपाठीले उत्कृष्ट गायिका, राजकुमार बगरले उत्कृष्ट संगीत र राजनराज शिवाकोटीले उत्कृष्ट गीतको अवार्ड हात हात पारे। पपगीततर्फ गायक कमल खत्री, गायिका सञ्जना श्रेष्ठ, संगीतकार लोकेश गुरुङ र गीतकार योगेन्द्रमणि दाहाल उत्कृष्ट भए। बेस्ट पप ब्यान्डको अवार्ड सविन राई एन्ड इलेक्ट्रोनिक्सले हात पा:यो।
लोकदोहोरीतर्फ ‘चिन्ता छैन केही’ गीतबाट पशुपति शर्मा, ‘धुवाँसरि फैलियो कुरो त’ बोलको गीतबाट मञ्जु पौडेलले अवार्ड जिते। लोकदोहोरी उत्कृष्ट लयमा ‘फूल फुलेर’का लागि रामजी खाँड र उत्कृष्ट शब्दमा ‘६ महिनामा धोका’का लागि शिरीष देवकोटाले अवार्ड पाए। लोकगायिका मञ्जुलाई मरणोपरान्त सम्मान दिइएको हो। उत्कृष्ट गजलको अवार्ड भने आनन्द कार्कीले हात पारे।
सुरज थापाले नवगायकको अवार्ड पाएको कार्यक्रममा स्थानीय कलाकारको विधातर्फ लोकदोहोरी गायकको अवार्ड तीर्थ सापकोटा, एकल गायकको अवार्ड भुवन प्यासीले पाउन सफल भए। उत्कृष्ट स्वदेश गीतको अवार्ड ‘गौतम बुद्ध’ बोलको गीतका लागि भविन्द्र नेम्बाङ, उत्कृष्ट युगल गीतको अवार्ड चलचित्र ‘नोभेम्बर रेन’को ‘पलभरमै’ बोलको गीतबाट युवराज चौलागाई र गायिका रजिना रिमालको भागमा गयो।
अन्नपूर्ण पोस्ट्को सञ्चार सहभागितामा भएको अवार्ड वितरण तथा वार्षिकोत्सव समारोहको उद्घाटन समाजसेवी मैयाँदेवी श्रेष्ठले गरेकी थिइन्। कालिका एफएमका अध्यक्ष विक्रम पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न गायकगायिकाले आआफ्नो गीतमार्फत दर्शकलाई मनोरञ्जन गरेका थिए।
– www.annapurnapost.com


तारा थापा उपचार सहयोग समितिका सदस्यले व्यक्तिगत रूपमा संकलन गरेको एक लाख ८५ हजार, गीतकार समाजका तर्फबाट अध्यक्ष योगेन्द्रमणि दाहालले संकलन गरेको ५० हजारसहित दुई लाख ३५ हजार नगद गायक दीप श्रेष्ठले हस्तान्तरण गरे।